खुला दौड : पुरुषमा हेम्जन र महिलामा लोप्चन प्रथम

पालिका डायरी
२९ फाल्गुन २०८२, २०:५८

हेटौंडा /  हेटौंडामा सञ्चालित बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत पहिलो दिन जिल्लास्तरीय महिला तथा पुरुष १० किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार बिहान हेटौंडामा १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ राक्सिराङ–१ का सुवास हेम्जन प्रथम भएका छन् । अन्य २२ प्रतिस्पर्धीलाई उछिन्दै हेम्जनले प्रथम स्थान हासिल गरेका हुन् । दौडमा मनहरी–८ का सन्दीप विक द्वितीय र बकैया–८ का राजकुमार गोले तृतीय भए ।

यस्तै महिलातर्फ हेटौंडा–१३ की साधना लोप्चन प्रथम भइन् । उनले अन्य ६ प्रतिस्पर्धीलाई पछि पार्दै महिला दौडको उपाधि जितेकी हुन् । महिलातर्फ हेटौंडा–१३ कै अमृता मोक्तान द्वितीय, हेटौंडा–४ की सुविना गोले तृतीय र राक्सिराङ–१ की निलिमा थिङ सान्त्वना भइन् ।

दुवैतर्फका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः २० हजार, १० हजार, ५ हजार र १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलकुद महोत्सव भएको हो । महोत्सव अन्तर्गत विभिन्न ६ वटा विधामा खेलकुद प्रतियोगिता हुनेछ ।

दौडमा इच्छा भएका खेलाडीहरूको पहिचानसहित खेल क्षेत्रको विकासका निम्ति जिल्लास्तरीय महिला तथा पुरुष दौडको आयोजना गरिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।

शुक्रबारबाट नै जिल्लास्तरीय डबल्स ब्याड्मिन्टन प्रतियोगिता समेत सुरु भएको छ । हेटौंडा–११ थानाभर्‍याङस्थित कभर्ड हलमा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् खेलकुदप्रेमी अरुणराज सुमार्गीले ब्याड्मिन्टन प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

ब्याड्मिन्टन प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार तथा सान्त्वनाले ५/५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मकवानपुर खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया