अभिभावकको श्रमदान र आर्थिक सहयोगमा बन्यो ट्रस भवन

पालिका डायरी
५ असार २०८३, २०:२५

कैलाश / कक्षा कोठाको अभाव भएसँगै जग्गा दान प्राप्त भइ पछि अभिभावकहरूको श्रमदान तथा आर्थिक सहयोगमा निर्माण गरिएको दुई कोठे ट्रस भवनको उद्घाटन तथा सहयोगी दाताहरूलाई सम्मान गरिएको छ । कैलाश गाउँपालिका वडा नम्बर ७ कोथलिटार स्थित कोथलिटार आधारभूत विद्यालयका अध्यक्ष लोकबहादुर नेगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा दुई कोठे ट्रस भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन पश्चात गाउँपालिका अध्यक्ष मुक्तानले चेपाङ र तामाङ समुदायका बसोबास रहेको क्षेत्रमा सञ्चालन हुँदै आएको विद्यालय प्राथमिक तहबाट क्रमशः आधारभूत तहमा स्तरोन्नति भइसकेको बताए । उनले भविष्यमा विद्यालयलाई माध्यमिक विद्यालय (मावि) तहसम्म विस्तार गर्ने प्रतिवद्धता समेत जनाए । विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताउँदै अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गरे । उनले विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरू पनि लगनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । सामुदायिक एकता, अभिभावकको सक्रियता तथा स्थानीय तहको सहयोगले विद्यालयको थप विकास सम्भव रहेको बताएको अध्यक्ष मुक्तानले बताए ।

कार्यक्रममा विद्यालयका लागि जग्गा प्रदान गर्ने मानबहादुर नेगीलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो भने ट्रस भवन निर्माणमा सहयोग र्पुयाउने विभिन्न दाता तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । अभिभावकबाट एक लाख ९९ हजार ७०७ रुपैयाँ संकलन गरिएको थियो भने विद्यालयतर्फबाट ६१ हजार तीन सय संकलन गरिएको विद्यालयका प्रधानाध्यापक सीताराम श्रेष्ठले बताए ।

कार्यक्रममा वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, वडा सदस्य मानबहादुर चेपाङ, प्रधानाध्यापक सीताराम श्रेष्ठ, जनजागरुक युवा क्लबका अध्यक्ष तथा भवन निर्माण समितिका कोषाध्यक्ष सुरेन्द्र घलान, विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती चेपाङ र रोमिका चेपाङ, पीटीए अध्यक्ष रमेश स्याङ्तान, विद्यालयका पूर्व अध्यक्ष सन्तबहादुर सिन्तानलगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयमा सुरुआती चरणमा भवन अभावका कारण खरको छानोले छाएको सामान्य घर निर्माण गरी पठनपाठन सञ्चालन गरिएको थियो । हाल अभिभावकहरूको श्रमदान र आर्थिक सहयोगमा दुई कोठे ट्रस भवन निर्माण भएपछि कक्षा ५ र ६ को पठनपाठन सञ्चालन गरिएको प्रअ श्रेष्ठले बताए । शैक्षिक सत्र २०८३ बाट कक्षा ६ सञ्चालन सुरु गरेको विद्यालयमा हाल ईसीडी कक्षामा ३७ जना तथा कक्षा ६ मा २१ जना विद्यार्थी गरी १७० जना विद्यार्थी अध्ययनरत रहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया