लेनडाँडा स्थित कान्तिलोकपथमा दुई ट्रक ठोक्किँदा एक जना गम्भीर घाइते
हेटौंडा / गए राति करिब ११:३५ बजेको समयमा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक आपसमा ठोक्किँदा सवारी दुर्घटना भएको छ।
हेटौंडाबाट काठमाडौं तर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४६४१ नम्बरको सिमेन्ट लोड ट्रक र विपरीत दिशाबाट काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ४५०१ नम्बरको खाली ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ४६४१ नम्बरको ट्रकका चालक सिन्धुली दुधौली नगरपालिका–१४ निवासी अन्दाजी २४ वर्षीय टुल्कु सिंह तामाङ गम्भीर घाइते भएका छन्। बाहिरी चोट नदेखिए पनि उनी गम्भीर अवस्थामा रहेकोले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
दुवै ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। ४५०१ नम्बरको ट्रकका चालक मकवानपुर बागमती गाउँपालिका–७ निवासी अन्दाजी ४३ वर्षीय बेलकुमार स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि सडक एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।



