प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजु पाण्डे

पालिका डायरी
२६ फाल्गुन २०८२, १८:०२
प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजु पाण्डे

काठमाडौँ-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भएको बताउँदै त्यसमा शंका  गर्न नहुने बताएका छन्।

मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले रास्वपाका नेताहरूलाई जथाभावी नबोल्न पनि चुनौती दिएका छन्। सञ्चारकर्मीले प्रधानमन्त्रीका विषयमा सोधेको प्रश्नमा पाण्डेले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन शाह हो, त्यसमा कन्फ्युजन नहुनुस्।’

प्रधानमन्त्रीमा बालेन बाहेकका विषयमा कुरा नगर्न पनि उनले रास्वपाका पदाधिकारीलाई चेतावनी दिएका छन्। ‘अनि, पनि, कमा, फुलस्टप, दाहिने बायाँ कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको पदाधिकारीलाई छुट छैन,’ उनले भने।

यसअघि आइतबार रास्वपाका उपसभापति डोलप्रसाद अर्यायले प्रधानमन्त्रीबारे सोधिएको प्रश्नमा आफूलाई कण्ठ नभएको प्रतिक्रिया दिएका थिए। पाँचै वर्ष बालेन प्रधानमन्त्री हुन्छन् त भन्ने प्रश्नमा उपसभापति अर्यालले सहमति अनुसार हुने बताएका थिए। सहमतिमा के छ भन्ने प्रश्नमा आफूलाई कण्ठ नभएको र हेर्नुपर्ने प्रतिक्रिया दिएका थिए।

त्यसलाई लिएर मंगलबार सञ्चारकर्मीले पाण्डेलाई पनि सोधेका थिए। त्यसको जवाफमा पाण्डेले भने, ‘उहाँले थाहा छैन भनेको मलाई थाहा छैन। भनेको हो भने गैरजिम्मेवार कुरा हो। गैर जिम्मेवार कुरा गर्ने कसैलाई पनि जनताले सहनेवाला छैन। ’

प्रतिक्रिया