रानाले पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भदौ २३ र २४ गते भएका घटनाहरूको संकेत गर्दै राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा भएका आगजनी, तोडफोड र अराजक गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको आरोप लगाए। “जो गणतन्त्रको पक्षमा उभिए, जो लोकतन्त्रको पक्षमा उभिए, जसले आफ्नै पसिनाले घर बनाएका थिए, स्थानीय तहमा विकासका काम अगाडि बढाएका थिए—तिनकै घर छानी–छानी आगो लगाइयो,” उनले भने, “यो राजनीतिक असहमति होइन, सीधै अराजकता हो।”
उनले प्रहरी पोशाक दुरुपयोगदेखि सार्वजनिक संरचनामाथि आक्रमणसम्मका गतिविधिलाई राज्यविहीनताको संकेतका रूपमा चित्रण गरे। “कानूनभन्दा माथि कोही हुँदैन। जेल सजाय भोगिरहेका व्यक्तिहरू जेल तोडेर बाहिर आउने, गम्भीर आरोप लागेकाहरूलाई राजनीतिक आवरण दिने—यस्तो अवस्था रहिरहे मुलुक कहाँ पुग्छ?” उनले प्रश्न गरे।
रानाले दण्डहीनताको अन्त्य र कानूनी शासनको सुदृढीकरण नेकपा एमालेको स्पष्ट अडान रहेको बताए। “जोशमा होस गुमाएर मुलुक चल्दैन। कानूनी आधारमा दोषीलाई कारबाही र निर्दोषको सुरक्षा सुनिश्चित गर्नुपर्छ,” उनले भने।
उम्मेदवार रानाले आर्थिक एजेन्डातर्फ संकेत गर्दै स्थायित्व, लगानीमैत्री वातावरण र रोजगारी सिर्जनामा आफ्नो प्राथमिकता रहने बताए। “हामी आर्थिक नीतिलाई स्पष्ट दिशामा अघि बढाएर विकासलाई गति दिन्छौं,” रानाको दाबी छ।
उनले मतदातालाई भावनामा होइन, नीतिमा आधारित निर्णय गर्न आग्रह गर्दै भने, “देश बनाउने जिम्मेवारी संयम, कानून र विकासको स्पष्ट दृष्टिकोण एमालेसँग मात्र भएको स्पष्ट पार्छु।”


