लक्ष्मण राजवंशी आदर्श गुरु सम्मानबाट संस्कृत शिक्षक उदिम पन्त सम्मानित

पालिका डायरी
१२ फाल्गुन २०८२, २२:०१

ज्ञानार्जन भूमि विद्यालय (एलआरआई) काठमाण्डौंले “लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान २०८२” बाट हेटौडाका संस्कृत शिक्षक उदिम पन्तलाई सम्मान गरेको छ ।
मकवानपुर स्थित हेटौडा एकेडेमीमा संस्कृत विषय पठनपाठन गराउँदै आउनु भएका पन्तलाई एलआरआईको ३८ औं वार्षिकोत्वका अवसरमा मंगलवार काठमाडौंमा सम्मान गरिएको हो ।

शिक्षा क्षेत्रमा लामो समयदेखि अमूल्य ज्ञान, समर्पण र अनुभवको योगदान दिँदै हजारौं विद्यार्थीहरूको जीवन उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत पन्तलाई नगद रु. २५,०००/– (पच्चीस हजार रुपैयाँ) सहित उक्त सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार “लक्ष्मण राजवंशी आदर्श गुरु सम्मान” शिक्षण पेशामा समर्पित भई उल्लेखनीय योगदान पुर्‍याउने गुरुजनलाई प्रदान गरिँदै आएको एक प्रतिष्ठित सम्मान हो ।
विद्यालय परिवारले राष्ट्र निर्माणका लागि उहाँले पुर्‍याउनुभएको अनन्य शैक्षिक योगदानप्रति अखण्ड आदर र कदर व्यक्त गर्दै यो सम्मान समर्पण गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको उल्लेख गरेको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले शिक्षामा पाश्तात्य प्रभाव बढिरहेको वर्तमान अवस्थामा मौलिक शिक्षाको जगेर्ना आजको आवश्यकता भएको बताउनु भयो । विद्यालयले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने अन्य महानुभावहरुलाई पनि नगद तथा प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

प्रतिक्रिया