धादिङमा दुई बस ठोकिँदा घाइते भएका टिपर चालकको मृत्यु, दुवै चालक पक्राउ

पालिका डायरी
२५ माघ २०८२, ११:२८
धादिङमा दुई बस ठोकिँदा घाइते भएका टिपर चालकको मृत्यु, दुवै चालक पक्राउ

धादिङमा दुईवटा बस ठोकिँदा घाइते भएका टिपर चालकको मृत्यु भएको छ । धादिङको थाक्रेमा आज बिहान दुईवटा बस आपसमा ठोकिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

मृतक युवक धादिङकै धुनिबेसी नगरपालिका ९ स्याउले घर भएका ३५ वर्षीय सुजन तामाङ रहेका छन् । आइतबार बिहान ७ः३० बजे दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको बस आपसमा ठोक्किएका थियो ।

ठक्करपछि दुवै बस सडकछेउमा रहेको टिनले छाएको खाजा पसलमा ठोकिँदा थप क्षति पुगेको धादिङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दुईवटा बस ठक्कर खाएपछि बाँके वैजनाथ गाउँपालिका–१ स्थायी ठेगना भइ हाल दशकिलामा पसल सञ्चालन गर्दै आएका खगेश्वर शर्माको चिया पसलमा पनि क्षति पुगेको छ ।

दुर्घटनाको समयमा उक्त पसलछेउमा टिपर रोकेर चिया–नास्ता खाइरहेका धुनिवेशी नगरपालिका–९ स्याउले निवासी ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उनलाई चिकित्सकले बिहान १० बजे मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बसमा सवार अन्दाजी ८ वर्षीया बालिका सफलता पुलामी मगर सामान्य घाइते भएकी छन् । उनको थाक्रे पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सुरक्षित रहेका छन् । दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला तथा प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको थियो ।

दुर्घटनामा संलग्न दुवै बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटनास्थलमा हाल सवारी आवागमन सामान्य रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया