आफ्नो उम्मेदवारीप्रति मकवानपुरे जनता उत्साहित : उम्मेदवार रामेश्वर राना

पालिका डायरी
२५ माघ २०८२, १०:५९

हेटौंडा  /  नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले आफ्नो उम्मेदवारीले मकवानपुरे जनता खुसी र उत्साहित रहेको बताएका छन्।

नेकपा एमालेबाट निर्वाचित वर्तमान तथा पूर्व जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उम्मेदवार रानाले मुलुकलाई विद्यमान संकटबाट पार लगाउन तथा विकास र समृद्धिको बाटोमा अघि बढाउन नेकपा एमालेको जीत अपरिहार्य रहेको बताए। उनले कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई विचलित र अन्योलमा नपरी निर्धक्क भएर निर्वाचनमा जुट्न आग्रह गरे।

भेलामा संविधानसभा सदस्य अनन्त पौडेलले फागुन २१ गते हुने निर्वाचन राष्ट्रियता विरोधी र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने शक्तिबीचको लडाइँ भएको बताए। उनले राष्ट्रिय स्वाभिमान जोगाउन नेकपा एमालेलाई विजयी बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए। अब बन्ने संसदले मुलुकलाई निकास दिन नसके संविधान, लोकतन्त्र मात्र होइन राष्ट्रियतासमेत संकटमा पर्न सक्ने उनको तर्क थियो।

त्यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले कानुनी र वैधानिक रूपमा निर्वाचन जितेर बहुमतसहित सरकार गठन गर्नुपर्ने बताए। उनले मकवानपुरमा एमालेको विगतको साखलाई कायम राख्दै संगठित रूपमा निर्वाचनको तयारीमा जुट्न आग्रह गरे।

नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको भेलामा पूर्व सांसद कृष्णप्रसाद दाहाल, प्रदेश कमिटी सदस्यहरू फुर्वादोर्जे घिसिङ, गणेशकुमारी श्रेष्ठ, नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको उपसचिव फुर्वादोर्जे लामा, नगर कमिटी अध्यक्ष बोलबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया