हेटौंडा–७ मा एमालेको निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न

पालिका डायरी
२५ माघ २०८२, १०:५३

हेटौंडा  /  नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका–७ नम्बर वडा कमिटीको आयोजनामा निर्वाचन लक्षित वडास्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) का नेता एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो। उहाँले एमाले नेतृत्वमा भएका सरकारहरूले मुलुकको पुनर्निर्माण, विकास र राष्ट्रियताको पक्षमा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै ती उपलब्धिहरूलाई जनतामाझ लिएर जान कार्यकर्तालाई आग्रह गर्नुभयो। साथै उहाँले देशको स्वाधीनता, स्थायित्व र समृद्धिका लागि एमाले नै भरोसायोग्य शक्ति भएको धारणा राख्नुभयो।
पौडेलले “केपी ओलीको नेतृत्वमा देशले आत्मनिर्भरता र समृद्धिको बाटो समातेको छ, त्यसैको निरन्तरताका लागि एमालेको जित अपरिहार्य छ,” भन्दै कार्यकर्तालाई जनतामाझ तथ्य र उपलब्धि लिएर जान आग्रह गर्नुभयो।

पार्टीले मकवानपुरको २ ओटै निर्वाचन क्षेत्रमा समावेशी किसिमले जनताले रुचाएका व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभयो । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक रुपमा अनुभवी, सादगी नेता रामेश्वर राना र २ नम्बर क्षेत्रमा सक्षम लोकप्रिय युवा नेता महेश बर्तौलालाई उम्मेदवार बनाएकोले जिल्लाको दुबै क्षेत्रमा एमालेको जीत सुनिश्चित रहेको बताउनुभयो ।

यस्तै भेलामा एमाले केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य एका लाल श्रेष्ठले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। यस्तै देशको रक्षा र देश निर्माणका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

भुकम्पले ढलेका धरहरा, सिंहदरबार लगाएतको राष्ट्रिय संरचनाको पुनर्निर्माण एमालेले नै गरेको बताउदै उहाँले आन्दोलनको नाममा भदौ २४ गते देशको राष्ट्रिय संरचनाहरुमा गरिएको अराजक विध्वंस र आगजनी पछि खंडहर बनेका भौतिक संरचनाको पुनर्निर्माण पनि फागुन २१ पछि बन्ने एमालेको सरकारले नै गर्ने बताउनु भयो ।

उहाँले भदौ २३–२४ मा भएको घटना कुनै आन्दोलन नभएर विदेशी शक्तिले मुलुक र एमाले पार्टीलाई कमजोर बनाउने षड्यन्त्रको रुपमात्रै भएको टिप्पणी गर्नुभयो । एमालेले सधैं लोकतान्त्रिक मूल्य, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो।

भेलामा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रघुनाथ खुलालले पनि पार्टीले गरेका विकास निर्माणका काम, सुशासनका प्रयास र राष्ट्रियताको सवालमा एमालेको स्पष्ट अडानबारे चर्चा गर्नुभयो । आगामी निर्वाचनलाई चुनौती र अवसर दुवैका रूपमा लिँदै संगठनात्मक एकता र सक्रियतामार्फत विजयी हुने विश्वास व्यक्त गर्नुभयो।
भेलामा पार्टी केन्द्रिय लेखा आयोग सदस्य नवीन सिग्देल, जिल्ला उपाध्यक्ष हिदम लामा लगाएतले केपी शर्मा ओलीको नेतृत्वप्रति जनताको बढ्दो विश्वास, एमालेले गरेका विकास निर्माणका काम र सुशासनका प्रयासबारे चर्चा गर्नुभयो। उनीहरूले संगठनात्मक एकता, अनुशासन र सक्रियताका साथ निर्वाचनमा होमिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

भेलाले पार्टी संगठनलाई थप मजबुत बनाउन र निर्वाचन तयारीलाई तीव्रता दिन वडा तहमा निर्वाचन लक्षित टोल परिचालन समिति समेत निर्माण गरि जिम्मेवारी प्रदान गरिएको छ । भने कार्यक्रम पश्चात् निर्वाचन सम्पर्क कार्यलयको समेत उद्घाटन गरिएको छ ।

प्रतिक्रिया