फेरि किन पक्राउ परे दुर्गा प्रसाई
file photo
मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
प्रहरी हिरासतबाट छुटेको तीन साता नबित्दै प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले फेरि पक्राउ परेका हुन् । यसअघि गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनी माघ ६ गते हाजिरी जमानीमा छुटेका थिए । शुक्रबार उनलाई काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरिएको हो । उनी महाअभियानले आयोजना गर्न लागेको कार्यक्रमका लागि वीरगञ्ज जाँदै थिए ।
साइबर ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेले साइबर अपराधमा पक्राउ गरिएको बताए । ‘निर्वाचन आयोगबाट आचारसंहित उल्लंघनबारे पत्र आएको छ । निर्वाचन आयोगको आग्रहमा नियन्त्रणमा लिएका हौँ,’ डीआईजी काफ्लेले भने ।
आयोगले निर्वाचन व्यवस्थापनमा अवरोध हुने गरी कसूर गरेकाले साइबर अपराध अन्तर्गत कारबाहीका लागि पत्र पठाएको थियो । वीरगञ्जमा आयोजना हुने विरोध कार्यक्रमले निर्वाचन व्यवस्थापनमा अवरोध पुग्ने जनाइएको छ । त्यसैलाई लिएर आयोगले साइबर ब्युरोलाई पत्र पठाएको थियो । ‘अहिले साइबर क्राइममा नियन्त्रणमा लिएका छौँ, थप अनुसन्धान गछौँ,’ काफ्लेले भने ।
व्यवसायी प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए । उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन रोक्नुपर्ने माग गर्दै आन्दोलनमा छन् । यसअघि माघ २ गते सरकारसँग भएको वार्तामा निर्वाचन विरोधी गतिविधि नगर्ने सहमति भएको थियो ।


