सुपिङमा बर्तौलाले एक दर्जन रास्वपा एमाले फर्काए

पालिका डायरी
२१ माघ २०८२, १२:०४

​नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश बर्तौलाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । बुधलबार भीमफेदी गाउँपालिका वडा नं. ५ को सुपिङ गाउँमा आयोजित शुभचिन्तक भेटघाट तथा अन्तरक्रियाका क्रममा एमाले छाडेर रास्वपा प्रवेश भएका एक दर्जन कार्यकर्तालाई पुनः एमाले फर्काएका छन् ।

​कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शेर बहादुर मुक्तान, चन्द्र बहादुर स्याङतान, रमाकान्त नेपाल, कमल बहादुर रेग्मी र सुमन थिङ लगायत एक दर्जन कार्यकर्ताहरू पुनः नेकपा एमालेमै फर्किएका हुन् । उम्मेदवार बर्तौलाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अधुरा काम पूरा गर्न आफूलाई पुनः अवसर दिन आग्रह गर्नुभयो ।

​स्थानीयसँगको भेटमा बर्तौलाले विगतको कार्यकाल पूर्ण हुन नपाएकोमा दुःख व्यक्त गर्नुभयो । “तपाईंहरूले मलाई ६० महिनाका लागि निर्वाचित गरेर पठाउनुभएको थियो, तर संसद विघटनका कारण ३२ महिनामै मेरो कार्यकाल रोकियो,” बर्तौलाले भन्नुभयो, “प्राकृतिक न्याय र २०७९ को जनादेशका आधारमा पनि मैले बाँकी २८ महिना सेवा गर्न पाउनुपर्छ । अधुरा जिम्मेवारी पूरा गर्न मलाई सहयोग गर्नुहोस् ।”

​अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार बर्तौलासमक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । स्थानीय गुण प्रसाद पुडासैनीले बाँदरको समस्याका कारण गाउँ नै रित्तिन लागेको बताउँदै यसलाई नीतिगत रूपमै समाधान गर्न माग गर्नुभयो । अर्का स्थानीय छविलाल पुडासैनीले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने र गाईको मासु खान पाउनुपर्छ भन्ने खगेन्द्र सुनारको अभिव्यक्तिको कडा विरोध गर्नुभयो । वास्थलाका सूर्य बहादुर ब्लोनले पुस्तौँदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा नपाएको गुनासो गर्दै भूमि आयोगको कामलाई तीव्र बनाउन आग्रह गर्नुभयो ।

​कार्यक्रममा बोल्दै नेकपा (एमाले) भीमफेदीका उपसचिव आशिष अस्लामीले बर्तौलाको विगतको कार्यकाल उपलब्धि मुलक रहेको दाबी गर्नुभयो । उहाँले बर्तौलाले संसदमा भूमिहीनका समस्या, टीआरसी विधेयक, शिक्षा विधेयक र दुग्ध किसानका पक्षमा दरिलो आवाज उठाएको स्मरण गराउनुभयो । अस्लामीले भन्नुभयो, “हाम्रो उम्मेदवार दुई विषयमा स्नातकोत्तर र कानुनमा स्नातक (LLB) गर्नुभएको विज्ञ व्यक्ति हुनुहुन्छ । उहाँको सक्रियताले नै बकैया लगायतका क्षेत्रमा भूमिहीनले पुर्जा पाएका छन्, बाँकी काम पनि उहाँले नै पूरा गर्नुहुनेछ ।”

एमाले बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनीले गएको भदौ २३-२४ गते व्यक्तिगत र सार्बजनिक सम्पत्ति जलाएको स्मरण गराउँदै राष्ट्रियता र शान्ती सुरक्षाको लागि एमालेमा मत हाल्न अनुरोध गर्नुभयो ।
भीमफेदेव-५ का वडा अध्यक्ष तथा एमाले नेता जहारसिं लामाले बाँदर समस्या समाधानको लागि बाँदरले नखाने टीमुर जस्ता खेती गर्न सुझाए ।

प्रतिक्रिया