रामेश्वर रानाको संघर्ष, अनुभव र सादगीपूर्ण राजनीतिक जीवन

पालिका डायरी
१५ माघ २०८२, ०९:००

मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार सिफारिस भएका रामेश्वर राना मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नं. ११, नवलपुरमा वि.सं. २०१९ साल चैत २३ गते स्वर्गीय जमान बहादुर राना र राममाया रानाका माहिलो छोराका रूपमा जन्मनुभएको हो। उहाँ एक दाइ, एक भाइ र एक बहिनीसहित सामान्य किसान परिवारमा हुर्कनुभएको हो। आर्थिक तथा पारिवारिक जिम्मेवारीका कारण उहाँले आई.कम. सम्म अध्ययन गर्नुभयो।

वि.सं. २०३६ सालको जनआन्दोलनबाट प्रभावित भई उहाँमा राजनीतिक चेतनाको विकास भयो। त्यसैको निरन्तरतास्वरूप २०३७ सालमा हेटौंडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीमार्फत उहाँको संगठित राजनीतिक यात्रा सुरु भयो। २०३८ सालमा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएका राना २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुभयो। त्यसपछि पार्टीको शाखा कमिटी, हेटौंडा नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभयो। अहिले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका रामेश्वर रानाले नेकपा एमालेको संगठन निर्माणमा लामो समय समर्पित भएर काम गरेको यथार्थ अनुभूति हुन्छ।

२०५१ सालमा नेकपा एमाले मकवानपुरको सचिव बनेका रानाले तीन कार्यकालसम्म जिल्ला पार्टी नेतृत्व सम्हाल्दै संगठनलाई उचाइमा पुर्‍याउन सफल हुनुभयो। बागमती प्रदेश कमिटी सदस्य हुँदै उहाँ चार कार्यकालसम्म नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभयो। हालै सम्पन्न ११औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भई उहाँ अहिले केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्जका रूपमा सक्रिय हुनुहुन्छ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका रामेश्वर राना जनताबाट प्रत्यक्ष निर्वाचित भई काम गरिसक्नुभएको छ। २०४९ सालमा हेटौंडा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र २०५४ सालमा जिल्ला विकास समिति मकवानपुरका सभापति निर्वाचित भई उहाँले सामाजिक तथा प्रशासनिक यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्नुभयो।

जिल्ला विकास समिति सभापति रहँदा उहाँले चुरे संरक्षणको अवधारणा अघि सार्नुभयो। मकवानपुर जिल्लालाई सडक सञ्जाल विस्तारसँग जोड्दै एकीकृत विकासको दीर्घकालीन गुरुयोजना प्रस्तुत गर्नुभएको थियो। उहाँका ती कामहरू आज पनि जनताबीच सकारात्मक रूपमा स्मरण गरिन्छ।

संघर्षपूर्ण राजनीतिक यात्रामा १० वर्षे जनआन्दोलनले रामेश्वर रानाको जीवन अवसरभन्दा पनि संघर्ष र धैर्यले भरिएको देखिन्छ। २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भए पनि उहाँ राजनीतिबाट कहिल्यै विचलित हुनुभएन। त्यसपछि दुई पटक उम्मेदवारका रूपमा सिफारिस भए पनि अवसर पाउनुभएन। एकीकृत नेकपा माओवादीसँगको पार्टी एकताका क्रममा चुनाव लड्ने अवसर गुम्न पुग्यो भने अघिल्लो संसदीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट कमल थापा उम्मेदवार बनेपछि अन्तिम समयमा उम्मेदवारीबाट पछि हट्नुपर्‍यो। तर पटक–पटक अवसर नपाउँदा पनि पार्टीको जिम्मेवारीमा निरन्तर रहेर उहाँले राजनीतिक निष्ठा र अनुशासनको उदाहरण प्रस्तुत गर्नुभयो।

सामाजिक र राजनीतिक जीवनका लामो संघर्ष र अनुभवबाट खारिएका रानाले चीन, भारत, बंगलादेशलगायत मुलुकहरूको भ्रमण गरी विकास मोडेल, पूर्वाधार निर्माण र स्थानीय शासन प्रणालीको गहिरो अध्ययन गर्नुभएको छ। यी अनुभवहरूले उहाँको राजनीतिक जीवनमा विकास दृष्टिकोणलाई व्यवहारिक र दीर्घकालीन बनाएका छन्।

सादगीपूर्ण जीवनशैली, स्पष्ट विचार र इमानदार छविका कारण रामेश्वर राना मकवानपुरमा कर्मठ र भरोसायोग्य नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको उम्मेदवारीले पार्टी कार्यकर्ता मात्र होइन, आम जनतामा समेत सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ।

लामो संगठनात्मक अनुभव, जननिर्वाचित भएर काम गरेको इतिहास, निरन्तर संघर्ष र सादगी व्यक्तित्वका धनी रामेश्वर राना मकवानपुरको समावेशी राजनीति, समावेशी विकास र स्थायित्वका लागि प्रतिबद्ध नेताका रूपमा परिचित हुनुहुन्छ।

प्रतिक्रिया