नेकपाले टुंग्यायो मकवानपुरका दुवै क्षेत्रको उम्मेदवार

पालिका डायरी
५ माघ २०८२, १८:३७
नेकपाले टुंग्यायो मकवानपुरका दुवै क्षेत्रको उम्मेदवार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुरको दुवै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।

मंगलबार (भोलि) हुने मनोनयन दर्ताका लागि नेकपाले मकवानपुरको दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको हो। मकवानपुर–१ का लागि विजय गौतमलाई अघि सारेको छ भने क्षेत्र नम्बर २ का लागि पूर्वमेयर लवशेर विष्टलाई अघि सारेको छ। आउँदो फागुन–२१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरको थाहा नगरपालिकाका पूर्वमेयर विष्ट र युवा नेता गौतमलाई टिकट दिइएको हो। मकवानपुर १ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो भने २ नम्बर क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरेको थियो।

पूर्वमेयर विष्ट, नेकपाका नेता रामनारायण बिडारीदेखि बागमती प्रदेश सभा सांसद कुमारी मोक्तान लगाएतको नाम सिफारिस गरेकोमा विष्टलाई चुनावी प्रतिस्पर्धाका लागि टिकट दिइएको हो। २०७४ को स्थानीय तह निर्वाचनमा थाहा नगरपालिकामा मेयर निर्वाचित भएका उनले २०७९ को स्थानीय तहको निर्वाचनमा दोहोरिएनन्। २०७९ को आम निर्वाचनमा प्रदेश सांसदका लागि आंकाक्षी देखिएका उनले त्यतिबेला भने टिकट पाएनन्। सोही क्षेत्रबाट तत्कालिन माओवादी केन्द्रकी कुमारी मोक्तान उम्मेदवार बन्दा विष्ट ब्याक हुन परेको थियो।

उत्तरी मकवानपुरका विष्ट शालिन र प्रष्ट नेताको रुपमा परिचित छन्। नेकपा एमाले यस क्षेत्रका लागि महेश कुमार बर्तौलालाई उम्मेदवार बनाएसँगै नेकपाले पनि चुनावी प्रतिस्पर्धामा टक्कर दिने खालको उम्मेदवार छनोट गरिएको नेकपा मकवानपुरका नेताहरु बताउँछन्। मकवानपुर १ बाट उम्मेदवार बनेका गौतमसँग नेकपा एमालेका रामेश्वर राना र राप्रपाका दीपकबहादुर सिंहसँग चुनावी भीडन्त हुने देखिन्छ । कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको छैन।

प्रतिक्रिया