हेटौँडामा खेलकुद, कृषि पर्यटन तथा व्यापार महोत्सव हुँदै
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा बृहत् खेलकुद, कृषि पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ । खेलकुद विकास समितिले दोस्रो संस्करणको रुपमा महोत्सव गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो बृहत् खेलकुद कृषि, पर्यटन तथा व्यापार महोत्सव गर्न लागेको जनाकारी गराइएको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उदेश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए । खेलक्षेत्रको पूर्वाधारको विकासका लागि तीनै तहको सरकार र सरकारी संघसंस्थाहरुसँग सहकार्य गर्ने बताउँदै अध्यक्ष मोक्तानले खेलकुदका माध्यामबाट राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सक्ने दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको बताए ।
यही माघ २८ गतेबाट सुरु हुने महोत्सव फागुन १२ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा खेलकुद सँगै कृषि, तथा व्यापारका करिब ४ सयवटा स्टल रहने बताइएको छ । हेटौँडा–१० टीसीएन चौरमा हुने महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुनेछ । ४ लाख रुपैँया राशीको प्रथम पुरस्कार राखिएको भलिबल प्रतियोगिताको दोस्रो पुरस्कार २ लाख रुपैँया र सान्त्वना पुरस्कार ५०/५० हजार रुपैँया राखिएको अध्यक्ष मोक्तानले जानकारी दिए ।
यस्तै, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, जिल्ला स्तरीय कराँते प्रतियोगिता, जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता, राष्ट्रिय तेकवान्दो प्रतियोगिता र २२ किलो मिटर दौड प्रतियोगिताको आयोजना गरिने उनले बताए । यी खेलहरुमा प्रथम हुनेलाई नगद ३० हजार रुपैँया, दोस्रो हुनेलाई नगद २० हजार रुपैंया र तीतृय हुनेलाई १० हजार रुपैँया प्रदान गरिने बताइएको छ । महोत्सवमा १० जना खेलाडीहरुलाई जनही २५ हजार रुपैँयाको दरले सम्मान गरिने खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले बताए ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा घरेलु उत्पादन तथा कृषि उत्पादन प्रदशर्नी तथा खेल र खेलाडीलाई प्रोत्साहन रहने अयोजनको भनाइ छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा सांगितिक प्रस्तुती र कलात्मक झाँकी प्रदशनी गरिने बताइएको छ । कुल ८० लाख रुपैँया लागत अनुमान गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यतालिका छ भने समापन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले गर्ने बताइएको छ ।


