मकवानपुरका २ वटा क्षेत्रबाट सिफारिस भएका विरोध खतिवडाले चुनाव नलड्ने

पालिका डायरी
२३ पुष २०८२, २०:१४

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।

बुधबार मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै खतिवडाले प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने बताएका हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको दुवै क्षेत्रका लागि नेकपाले खतिवडाको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो।

तर उनले दुवै क्षेत्रबाट निर्वाचन नलड्ने घोषणा गरेका हुन्। पार्टीले आफूबाहेक जसलाई उम्मेदवार बनाए पनि जिताउनका लागिपर्ने बताउँदै उनले भने, ‘अब नयाँ अनुहारलाई पालो दिनुपर्छ। जेनजी आन्दोलनले नयाँ अनुहार खोजेको कुरा जगजायज छ। निर्वाचनमा होमिन्नँ तर राजनीतिबाट सन्यास लिएको भने होइन।’

खतिवडा मकवानपुरको राजनीतिमा प्रायः सधैँ जितिरहने नेताको रुपमा स्थापीत अनुहार हुन्। तत्कालीन अवस्थामा नेकपा एमालेबाट ४ पटक संसदीय यात्रामा सफल भएका खतिवडा एमाले छोडेदेखि निर्वाचनले सफलता दिलाएको छैन। उनले २०७९ को प्रतिनिधि सभा निर्वाचन सहित ६ वटा निर्वाचनमा भाग लिइसकेका छन्।

 

खतिवडा राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभा सदस्यका रुपमा मकवानपुरबाट ६ पटक उम्मेद्वार बनेर ४ पटक सफलता हात पार्न सफल थिए। २०४३ सालमा मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रुपमा खडा भएका उनी पराजित भएका थिए।

त्यसयता, २०४८, २०५१, २०५६ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले विजय हासिल गरेका थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने उनी उठेनन्। त्यसबेला सुवासचन्द्र ठकुरीलाई एमालेले अघि सार्दा खतिवडा ब्याक हुन परेको थियो।

एमाले विभाजित भएपछि तत्कालीन एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री समेत बनेका खतिवडा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट उम्मेदवार बनेर पराजित भए। तत्कालीन नेकपा (एस) सहित ५ दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका खतिवडालाई एमालेका उम्मेदवार महेश बर्तौलाले पराजित गरेका थिए।

गत प्रतिनिधि सभा निर्वाचनमा हारको चोक भोगेका खतिवडा आगामी निर्वाचनका लागि पन्छिएका छन्। नेकपाले उनकी पत्नी मुनु सिग्देलको नाम समानुपातिक सांसदको सूचीमा सिफारिस गरेर पठाएको छ।

मकवानपुरको दुवै क्षेत्रबाट आफूले निर्वाचन जित्ने सम्भावना कम देखेपछि खतिवडाले पत्नीको सिट सुनिश्चित गर्न उम्मेदवारी नदिने घोषणाको गरेको समेत चर्चा छ।

प्रतिक्रिया