जनमतको सम्मान गर्दै जेएन थपलियाले छाडे प्रतिनिधि सभाको दौड
हेटौंडा / नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री जेन थपलियाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आफूलाई जनताले अत्यधिक मतका साथ निर्वाचित गराएको स्मरण गर्दै थपलियाले बाँकी कार्यकाल पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
शनिबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै नेता थपलियाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने इच्छा भए पनि जनताले आफूमाथि राखेको आशा, विश्वास र भरोसालाई अन्याय गर्न नचाहेको स्पष्ट पारे । “मेरो कार्यकाल अझै बाँकी छ । जनताको मतबाट प्राप्त जिम्मेवारी पूरा गर्नु नै मेरो पहिलो कर्तव्य हो,” उनले भने ।
उनले हालको अवस्थामा पार्टीका अन्य योग्य र सक्षम नेताहरूलाई प्रतिनिधि सभामा उम्मेदवारी दिन आग्रहसमेत गरे । थपलियाको यो घोषणालाई पार्टीभित्र जिम्मेवार र नैतिक राजनीतिक निर्णयका रूपमा हेरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार थपलियाको निर्णयले जनमतको सम्मान र कार्यकालप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिएको सन्देश प्रवाह गरेको छ । यसले आगामी दिनमा पार्टीको आन्तरिक एकता र संगठनात्मक सुदृढीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



