मकवानपुर-१ बाट एमालेका ६ जनाको नाम सिफारिस

पालिका डायरी
२० पुष २०८२, १८:३७
मकवानपुर-१ बाट एमालेका ६ जनाको नाम सिफारिस

प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–१ बाट नेकपा (एमाले)ले ६ जनाको नाम सिफारिस गरेको छ।

आइतबार बसेको जिल्ला कमिटी बैठकले ६ जनाको नाम सिफारिस गरेको एमाले मकवानपुरकी सचिव सीता विष्टले बताइन्। दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नं. १ बाट एमाले केन्द्रीय सदस्य रामेश्वर राना, जिल्ला उपाध्यक्ष हिदम लामा, मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरेको छ।

एमाले केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठले भने नाम फिर्ता लिएका छन्। पार्टीको शनिबार बसेको बैठकमा उनले पनि आकांक्षा व्यक्त गरेका थिए।

सिफारिस गरिएकामध्ये रामेश्वर राना २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि आकांक्षी थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर–१ बाट एमालेकै टिकट दिएपछि राना अन्तिम समयमा ‘ब्याक’ हुन परेको थियो।

उम्मेदवारी दर्ता गर्नुअघिसम्म मतदाताले रानालाई नै एमाले उम्मेदवारको रुपमा लिएका थिए। तर केन्द्रको निर्देशन अनुसार थापालाई टिकट दिइएपछि पार्टी कार्यालयमा केहीबेर नाराबाजी समेत चलेको थियो। यसरी अघिल्लो पटक नेतृत्वको निर्देशन टेरेका रानालाई बलियो उम्मेदवारको सूचीमा हेरिएको छ।

त्यस्तै, एमाले उपाध्यक्ष हिदम लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष समेत हुन्। दोस्रो कार्यकालका लागि २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका लामा पनि प्रतिनिधि सभा निर्वाचनको बलियो उम्मेदवारको रुपमा हेरिएको छ। दुईपटक स्थानीय तहमा विजयी भएका लामा एमालेभित्रको लोकप्रिय नेताको रुपमा चिनिन्छन्। उनले गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभामा चुनाव लड्ने तयारी गरेका हुन्।

एमाले नेता कृष्णप्रसाद दाहालले पनि यस क्षेत्रमा आंकक्षा देखाएका छन्। कुनै समय मकवानपुर–१ बाट सधैँ उम्मेदवार बन्ने र निर्वाचन जित्ने पहिचान बनाएका दाहाल पछिल्लो समय भने पार्टीको आन्तरिक चुनावमै हार व्यहोर्दै आएका छन्। एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए।

पार्टीको इतर पक्षका मानिने दाहाल एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। जिल्लाबाट ५ नेता विजयी हुँदा उनी पराजित हुन पुगे।

एउटै क्षेत्रबाट धेरै जना नेताहरू आकांक्षी रहेपछि नाम सिफारिस गरेर प्रदेश कमिटीलाई पठाएको सचिव विष्टले बताइन्। प्रदेशले गरेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार चयन गर्नेछ।

प्रतिक्रिया