हेटौंडामा ‘जबजका आयाम’ पुस्तक लोकार्पण
हेटौंडा / मदन भण्डारी फाउन्डेसन मकवानपुरद्धारा प्रकाशित ‘जबजका आयाम’ नामक पुस्तक शुक्रबार हेटौंडामा लोकार्पण गरिएको छ । नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेटेर तयार पारिएको पुस्तक आज लोकार्पण गरिएको हो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् मदन भण्डारी हिरक जयन्ती समारोहका राष्ट्रिय संयोजक डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फाउन्डेसनले विभिन्न समयमा सम्मान गरेका व्यक्तिहरुले पुस्तक लोकार्पण गर्नुभयो । फाउन्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापीत श्रीचन्द्र शर्मा स्मृति सम्मनबाट सम्मनित व्यक्तिहरु क्रमश बम बहादुर लामा, ईश्वरी प्रसाद न्यौपाने, सुभद्रा रेग्मीलगायतले पुस्तक लोकार्पण गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले पुस्तक वास्तवमै समय सान्दर्भिक र बैचारिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै पुस्तक प्रकासनमा देखाएको तदारुकता र पुस्तक प्रकासन गर्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, सिद्धान्त र राजनीतिक यात्रालाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको ३१४ पृष्ठको उक्त पुस्तकमा विभिन्न व्यक्तित्वहरुको बिचार, लेख, कविताका साथै जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकासक्रम, नेपाली राजनीतिमा यसको प्रयोग, विद्यमान चुनौती तथा भविष्यका सम्भावनाबारे गहिरो विश्लेषण समेटिएको छ ।
पुस्तकमा मकवानपुरको कम्युनिस्ट आन्दोलन, वैचारिक लेख, शैक्षिक, औद्योगिक तथा सामाजिक विषयका सामग्री साथै अन्तरवार्ता र फाउन्डेसनले आयोजना गरेको कविता प्रतियोगिताबाट छनोट गरिएका उत्कृष्ट कविता पनि समावेश गरिएको छ ।
पुस्तकका बारेमा हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज पोखरेल र वरिष्ठ साहित्यकार रमेहमोहन अधिकारीले समिक्षा गर्नुभएको थियो । उहाँहरुले पुस्तकले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबारे अध्ययन–बहसलाई थप जीवन्त बनाउने तथा नयाँ पुस्तालाई मार्गदर्शन गर्ने र समसामयिक राजनीतिक बहसलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समीक्षकहरूले जबजलाई केवल पार्टी दस्तावेजका रूपमा नभई समाज, साहित्य, कला, संस्कृति, शिक्षा र अर्थतन्त्रसँग जोडिएको सामाजिक अभ्यासका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले मदन भण्डारीका बारेमा बुझ्न, खोज अध्ययन अनुसन्धान गर्न चाहने र अघिल्लो पुस्ताले गरेका कामलाई पछिल्लो पुस्तालाई बुझाउन पुस्तक उपयोगी हुने बताउनुभयो । अहिलेको अवस्थामा जबजको सान्दर्भिकता बढ्दै गएको र यो कुरा नयाँ पुस्तामा पु¥याउन जरुरी रहेको उहाँको भनाई थियो ।
पुस्तकको सम्पादक डा. शंकरप्रसाद उपाध्याय, डा घनश्याम घिमिरे र बोलबहादुर कार्कीले गर्नुभएको छ ।
सम्पादक मण्डलका तर्फबाट बोल्नुहुँदै डा घिमिरेले जबजलाई कम्युनिस्टहरूका लागि मात्र नभई समग्र समाजका लागि उपयोगी वैचारिक र व्यवहारिक सिद्धान्तका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो ।सो अवसरमा अध्यक्ष खुलालले पुुस्ततकका सम्पादक, लेखक, प्रकाशनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पुस्तक खरिद गर्न संस्थागत रु एक हजार र व्यक्तिगत रु पाँच सय रुपैया मुल्य निर्धारण गरिएको समेत बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभा पूर्व सदस्य केदार न्यौपाने, संविधानसभा सदस्य दिलबहादुर घिसिङ, विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।


