हेटौंडा / मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा भएको ट्र्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
लु ५ त १७४ नम्बरको ट्र्याक्टर दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल र चुरे हिल अस्पताल लगिएको थियो। घाइतेमध्ये ३ जनालाई अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका मकवानपुर प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा बकैया गाउँपालिका–७ अँधेरी निवासी अन्दाजी ५०/५५ वर्षका केशव माझी रहेका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई हेटौंडा अस्पताल भर्ना गरिएलगत्तै दिउँसो १४:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै, सोही स्थानका अन्दाजी ५०/५५ वर्षका युवराज माझीको पनि टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई हेटौंडा अस्पताल पु¥याइएलगत्तै दिउँसो २:२६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा बकैया–७ अँधेरीका अन्दाजी ४५ वर्षका सन्तलाल माझीको पनि मृत्यु भएको छ। उनलाई पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा अन्य घाइतेहरुको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


