धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु, १ को अवस्था गम्भीर

पालिका डायरी
२१ मंसिर २०८२, १०:४५
धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु, १ को अवस्था गम्भीर

सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा धादिङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्सपेक्टर श्यामकुमार बस्नेतले जानकारी दिए ।

मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिडङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन् । ‘अर्का करिब ३५ वर्षीय मृतक युवकको अझै पहिचान खुल्न सकेको छैन,’ इन्सपेक्टर बस्नेतले भने, ‘हामी थप अनुसन्धानकै क्रममा छौँ । मृतक युवक कुन गाडीमा सवार थिए भन्ने पनि खुल्न सकेको छैन ।’

दुवै शव टिचिङ अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी (डिब्बा), ना.४ ख ७१५ नम्बरको ट्रक, लु.९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे-३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग.१ ख ८५५१ नम्बरको बस / बा.१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेका हुन् ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएको भारतीय नम्बर प्लेटको ट्रकले अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया