सडक विस्तारमा अवरोध पुर्‍याउनेलाई कारबाही गरिने मकवानपुर प्रशासनको चेतावनी

पालिका डायरी
१७ मंसिर २०८२, १४:४२
राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन पैसा तिर्नुपर्ने

हेटौंडा  /  हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानमा अवरोध पुर्‍याउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले चेतावनी दिएको छ। बुधबार सार्वजनिक गरिएको सूचनामा प्रशासनले सडक विस्तार कार्यलाई रोक्ने, व्यवसायीहरूलाई धम्क्याउने र विकास निर्माणमा बाधा पुर्‍याउने गतिविधि सहन नहुने स्पष्ट गरेको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते सूचना जारी गर्दै सडक विस्तारका सबै तयारी पूरा भइसकेको जनाएको थियो। त्यसयता अधिकांश व्यवसायीहरूले पसलका सामानमा ‘सेल’ अफर लागू गर्दै, संरचना खाली गर्दै तथा तोकिएको मंसिर २० गतेभित्रै स्थानान्तरण गर्न सहयोग गरिरहेको प्रशासनले जनाएको छ।

तर, केही व्यक्तिहरूले यस सकारात्मक सहयोगलाई निरुत्साहित गर्दै धम्क्याउने, जबर्जस्ती पसल बन्द गराउने र सार्वजनिक काममा अवरोध सिर्जना गर्ने कार्य भइरहेको भन्दै प्रशासनले गम्भीर ध्यानाकर्षण गराएको छ। ‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधिप्रति पूर्ण सचेत रहेको छ। कानुनविपरीत कार्य नगर्न–नगराउन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

प्रशासनले यदि कसैले सडक विस्तारमा अवरोध सिर्जना गरेमा त्यस्ता व्यक्ति वा समूहलाई विद्यमान कानुनअनुसार कडा कारबाही गरिने उल्लेख गरेको छ । सडक डिभिजन कार्यालयले अघि बढाएको अभियानमा व्यापक जनसहभागिता रहेको र हेटौंडावासीले विकासका कामप्रति देखाएको समर्थन प्रशंसनीय रहेको पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया