मकवानपुरको बस्तिपुरमा कन्टेनर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
AI photo
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम सडक खण्डमा गयराती भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
चितवनतर्फबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर गाडी सडकमा बिग्रिएर रोकिएको अवस्थामा सोही दिशा तर्फबाट आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ गैरीभञ्याङ निवासी करिब ३० वर्षीय बालकृष्ण अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा राति १२ बजे चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको शव अस्पतालमै राखिएको छ।
त्यसैगरी मोटरसाइकलमा सवार लमजुङ बेँसीशहर नगरपालिका–१० पासाचौरका करिब ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन्। उनको बायाँ खुट्टा, टाउको तथा शरीरका अन्य भागमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। गुरुङको मकवानपुरस्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।।
दुर्घटनामा संलग्न कन्टेनर चालक पर्सा, धोबिनी गाउँपालिका–२ का करिब २४ वर्षीय राजवली रामलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएकाे छ।



