हेटौंडा / हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिला पैदल यात्रीको मृत्यु भएको छ। शनिबार साँझ करिब १८:३० बजे हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा पशुपतिनगरतर्फबाट हेटौंडा बजार हुँदै आएको ना ३८ प ५८५० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हाल हेटौंडा उपमहानगरपालिका–१०, कर्रा बसोबास गर्दै आएकी ५५ वर्षीया खुइली डोमलाई उपचारका लागि साँझ १८:४२ बजे हेटौंडा अस्पताल पुर्याइएको थियो। तर उपचारका क्रममा १८:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालक बाराको सिम्रनगढ नगरपालिका–११ का २५ वर्षीय सुनिल ठाकुरलाई प्रहरी नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



