बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

पालिका डायरी
१० मंसिर २०८२, १६:४९
बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन उद्घाटन भएको छ। बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो।

बागमती प्रदेशका मुख्यमन्त्री बानियाले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभई मन नलागे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रता पनि दिएको बताउनुभयो। उहाँले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गर्नुभयो। मुख्यमन्त्री बानियाले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरू अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन्। तर यस्ता व्यवस्था धेरै टिक्दैनन्। समयले त्यसलाई छोडेर जान्छ।” उहाँका अनुसार लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिने, गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिने तथा राज्य प्रणालीलाई सुधार्दै लैजान सकिने धारणा राख्नुभयो।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेको बताउनुभयो। बकैया गाउँपालिका पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उहाँको दाबी छ।

उहाँले भन्नुभयो, “आय–आर्जनको पाटोतिर हेर्दा, धेरै नागरिकलाई ‘बच्चा पढाउन गाह्रो’, ‘घर चलाउन कठिन’ भन्ने समस्या थियो। त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसरहरू सिर्जना गरेको छ। धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन्। विदेश जाने तयारीमा रहेका युवाहरू अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुनसक्ने देखेर यही काममा लाग्न थालेका छन्। यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारेको छ।”

बकैया गाउँपालिका वडा नं. ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण गरिएको हो। यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेको थियो। प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधासहितको सो भवनमा बैठक कक्ष, पार्किङलगायतका सुविधा रहेका छन्। संघीय सरकारको ६० प्रतिशत तथा पालिकाको ४० प्रतिशत बजेटमा बनेको नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २८ वटा कोठा, दुईवटा सभा हल, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालयलगायतका संरचना रहेका छन्।

गाउँपालिकासँग भवन २०७९ साल जेठ ३१ गते सम्झौता भएकोमा २०८१ साल असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। सो अवधिमा काम नसकेपछि म्याद थपिएको र गत भदौ ३१ गते निर्माण सम्पन्न भएको हो। भवन निर्माण सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकोमा काम बढेसँगै लागत बढेर अभिवृद्धिकरसहित सात करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ।

बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, पूर्व उपाध्यक्ष सरला बोलखे सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया