मुख्यमन्त्री बानियाँद्वारा बकैया–५ र ६ जोड्ने पक्की पुल शिलान्यास

पालिका डायरी
१० मंसिर २०८२, १६:४५
मुख्यमन्त्री बानियाँद्वारा बकैया–५ र ६ जोड्ने पक्की पुल शिलान्यास

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ र ६ जोड्ने कर्मचुली–जुइना–सुकौरा खोलामा निर्माण हुन लाग्ने मल्टिसेल बक्स पुलको शिलान्यास भएको छ। बुधबार एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उक्त पुलको शिलान्यास गर्नुभएको हो।

बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो। पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो भने श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। आयोजनाको काम २०८४ असार ७ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ। पुल निर्माण पश्चात् ८ सय घरधुरी लाभान्वित हुने छन्। पुल नहुँदा बकैया–६ का विद्यार्थीलाई वर्षाको समयमा विद्यालय आवतजावत गर्नसमेत समस्या हुने गरेको थियो। पुल निर्माण भएपछि किसान, विद्यार्थी, स्थानीयवासी तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कसमेतका लागि सहज हुने बताइएको छ।

पुल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले समयमा नै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। संघीयताले गरिबलाई धनी बन्ने व्यवस्था ल्याएपछि विभिन्न क्षेत्रमा विकासले गति लिएको उहाँको दाबी थियो। जेनेरेसन (जेञ्जी) पुस्ताको आन्दोलनले देशमा जनधनको क्षति भएको बताउँदै उहाँले युवा पुस्ताको माग सम्बोधन गर्दै प्रदेशमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेश चन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य सुरु भएको जानकारी गराउँदै तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। आर्थिक तथा सामाजिक रूपान्तरणका लागि उत्पादनसँग जोडिन आवश्यक रहेको उहाँको धारणा थियो।

पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखे तथा विभिन्न राजनीतिक दलका व्यक्तित्व, समाजसेवी र स्थानीयहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया