हेटौंडा–४ नम्बर वडाको पहिलो प्राथमिकता शिक्षा
हेटौंडा / विकासका लागि शिक्षा नै पहिलो प्राथमिकता रहेको हेटौंडा–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्। शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को बैठकमा अध्यक्ष सिग्देलले वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएका हुन् । हेटौंडा–४ नम्बर वडा बागमती प्रदेशको राजधानीको शैक्षिक केन्द्र भएकाले शिक्षालाई पहिलो प्राथमिकता दिइएको उनको भनाइ रहेको छ।
समितिको बैठकले हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयद्वारा विनियोजित शैक्षिक कार्यक्रम कार्यान्वयनबारे ६ महिने (मंसिर–बैशाख) कार्ययोजना बनाएको छ। वडा कार्यालयमा सम्पन्न बैठकले शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा सांस्कृतिक मेला, वडा–स्तरीय बृहत् खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम, विद्यालयमा विनियोजित पूर्वाधार निर्माण कार्य अगाडि बढाउन विभिन्न निर्णय गरेको छ।
बैठकमा हेटौंडा–४ नम्बर वडाभित्र रहेका सामुदायिक विद्यालयहरू—भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, तथा संस्थागत विद्यालयहरू—नवोदय ई. बोर्डिङ स्कूल, ब्रह्मदीक एकेडेमी, सत्यम जेभियर्स, आमसाई ई. बोर्डिङ स्कूल, रोज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त रहेको कोषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनोनयन गरिएको समितिका सचिव रामसागर गुरागाईंले जानकारी दिए। वडा सदस्य गीता त्रिपाठीको विशेष उपस्थितिमा सम्पन्न बैठकले दाहालले समितिमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई बधाई ज्ञापन गरेको छ।



