आज रातिदेखि बुधबार बिहानसम्म हिमपात-वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

पालिका डायरी
१० कार्तिक २०८२, १४:०२
४ दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर file photo

एकसाथ पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैलाई सुझाव दिएको छ।

महाशाखाले सोमबार दिउँसो १२ बजे पोस्ट मनसुन विशेष मौसम बुलेटिन-१ जारी गर्दै आज कात्तिक १० गते रातिदेखि १२ गते (बुधबार) बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।

साथै यस अवधिमा गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको उल्लेख छ।सजग गराउँदै महाशाखाले अगाडि भनेको छ, ‘सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।’

 

प्रतिक्रिया