प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या १० पुग्यो
Ai photo
जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ। यसअघि चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
आन्दोलनकारीले भदौ २४ गते महाराजगञ्ज बृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट गरी हत्या गरेका थिए। हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय बुद्धिलाल थिङ जवान उत्तम थापाको हत्या आरोपमा कारागार चलान भएका हुन्।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विक असई रायको हत्या आरोपमा कारागारमा छन्। अहिले थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको भट्टराईले बताए।
उनका अनुसार गोरखाका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर र अनुपम भण्डारीमाथि अनुसन्धान चलिरहेको छ।
उनीहरुमाथि अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ। हत्या गरिरहेको भिडिओका आधरमा प्रहरीले पक्राउ गरेको हो। यसअघिका चारै जना आरोपीले प्रहरीको हत्या गरेको स्वीकार गरेका थिए।



