चैनपुर जेसीज मनहरी कपको फाइनलमा पटिहानी र गढी जेसीज

पालिका डायरी
३० आश्विन २०८२, १९:२२

हेटौंडा /  चैनपुर जेसीज मनहरीको आयोजनामा मनहरी ४ स्थित गोलघर खेल मैदानमा जारी ‘तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिता’को फाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पटिहानी इभेन्ट्सले गुरुशिष्य पाठशालालाई हराएसंगै फाइनल पुग्ने टोलीको टुंगो लागेको हो । यो संस्करणमा उपाधिका लागि साविक विजेता मकवानपुरगढी जेसीज र पटिहानी इभेन्ट्स भिड्ने भएको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनलमा पटिहानीले गुरुशिष्यलाई १-० ले हराएको हो । निकै प्रतिस्पर्धात्मक खेलको ४० औं मिनेटमा सामुयल सुनारले गरेको गोल नै निर्णायक बन्यो । उनले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको हो । खेलको म्यान अफ द म्याच समेत सुनार नै घोषित भए ।

पटिहानी र मकवानपुरगढी जेसीजबीचको फाइनल खेल यहि १ गते दिउँसो २ बजे हुनेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई सडनडेथमा स्तब्ध पार्दै फाइनलमा स्थान बनाइसकेको छ । असोज २३ गतेबाट सन्चालन भैरहेको प्रतियोगितामा मकवानपुर र चितवनका गरी १३ वटा क्लवको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिए ।

प्रतिक्रिया