धान पकेट क्षेत्रमा कृषि उपकरण बितरण

पालिका डायरी
२१ जेष्ठ २०८२, २०:१०

हेटौंडा /  स्थानिय रैथाने बिउँको संरक्षण गर्ने उद्देश्य अनुरुप हेटौंडा उपमहानगरपालिकाले क्षेत्र छुट्याएर थालेको धान पकेट क्षेत्रमा यान्त्रीक उपकरणहरु बितरण गरीएको छ ।

बागतमी प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले हेटौंडा–१७ हटियामा रहेको साना किसान कृषि सहकारी सस्थामा रहेर धान खेतीमा रहेका किसानहरुलाई उपकरण बितरण गरेको हो । पकेट क्षेत्रका लागि चालु आर्थिक बर्षमा उपमहानगरले १३ लाख रुपियाँ खर्चेर कार्यक्रम अघि बढाएको छ ।

बुधबार उपमहानगरका नगर प्रमुख मीनकुमारी लामाको प्रमुख आतिथ्यतामा उपकरणहरु बितरण गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाबाट धान पकेट कार्यक्रम अनुसार खरिद भएका उपकरण अनुदानमा बितरण गरीएको हो । उपमहानगरले १ सय ५५ वटा इलेक्ट्रिक स्प्रे, १ सय ६० वटा त्रिपाल, ६ जना किसानलाई हाते ट्रयाक्टर, ५ जना किसानलाई कम्वाइन राईस मिल, १० वटा पानी तान्ते मोटर, २ वटा डिजिटल काटा बितरण गरेको हो ।

सामग्री बितरण गर्दै नगर प्रमुख लामाले अब उत्पादनसँग जोडेर जान जरुरी रहेको बताइन् । उपमहानगर कृषिको बिभिन्न पाटोका जोड्दै नगरका बिभिन्न क्षेत्रलाई पकेट क्षेत्रको रुपमा अघि बढाउँने योजना सहित अघि बढेको बताइन् । उनका अनुसार अहिले हेटौंडाबाट धेरै कृषि उत्पादन देशका बिभिन्न ठाउँमा बिक्रीका लागि जाने गरेको उनको भनाई थियो ।

चालु आर्थिक बर्ष र आगामि आर्थिक बर्ष २०८२÷०८३ गरी दुई बर्ष सञ्चालन हुने कार्यक्रममा किसानलाई धान खेती सम्बन्धी दुइ वटा तालिम सहित ७ टन धानको रैथाने (स्थानिय) बिउ बितरण गरीएको छ । सहकारीका अनुसार अहिले कार्यक्रममा सहभागि भएका किसानलाई ४ टन मकवानपुरे छोटे र ३ टन रामधान बिउँ उत्पादनका लागि बितरण गरीएको छ ।

सान किसान कृषि सहकारी सस्थाका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१७ का अध्यक्ष उद्धब सत्याल, वडा सदस्य नबराज न्यौंपाने, उपमहानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि शाखाका प्रमुख प्रदिप रेग्मी, महिला उद्यमी गिता कडरीया मैनाली र उपमहानगरका कृषि प्राबिधीक गणेश खड्काको आतिथ्यता रहेको थियो । हेटौंडा–१७ को चुच्चेखोला देखि महादेब खोला सम्मको क्षेत्रलाई उपमहानगरले धान पकेट क्षेत्रको रुपमा अघि बढायन खोजिएको हो।

प्रतिक्रिया