हेटौंडा / भुटनदेवी मावि (प्राविधिक शिक्षालय)ले सञ्चालन गरेको एक महिनाको उद्यमशीलता तालिम समापन गरिएको छ।
समापन कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले विद्यार्थीका लागि प्रारम्भिक अध्ययन महत्वपूर्ण भए पनि त्यससँगै सीप पनि आवश्यक रहेको बताइन्। उनले विद्यालयले सीपमूलक तालिम सञ्चालन गरेर निकै महत्वपूर्ण कार्य गरेको र हेटौंडाको अग्रणी विद्यालय भुटनदेवी माविले यस्ता सिर्जनात्मक तथा सीपमूलक कार्यहरू गर्दै शिक्षाको दायरा फराकिलो बनाएको उल्लेख गरिन्।
कार्यक्रमका विशेष अतिथि वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले भुटनदेवी मावि आफैँ प्राविधिक शिक्षालय भएकाले औपचारिक शिक्षासँगै विद्यार्थीको शारीरिक तथा मानसिक चौतर्फी विकासमा विद्यालयले विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए। उनले शिक्षामा सुधार गर्न चाहने हो भने प्राविधिक तथा सीपमूलक शिक्षामा सबै तहका सरकार र विद्यालयहरूले लगानी गर्नुपर्ने र यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने जानकारी दिए।
विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले एक महिनाको तालिममा इलेक्टिकलतर्फ २० जना, ब्युटी पार्लरतर्फ २० जना र कपाल काट्ने (हेयर कटिङ) तर्फ २० जना गरी कुल ६० जनालाई तालिम दिइएको र विद्यालयकै आन्तरिक स्रोतबाट बजेटको व्यवस्थापन गरी तालिम सञ्चालन गरिएको बताए। उनका अनुसार तालिम उपलब्धिमूलक रहेको थियो।
तालिममा सहभागी विद्यार्थी र प्रशिक्षकहरूले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताए। उनीहरूले यस्ता कार्यक्रमलाई विद्यालय र सरकारले प्राथमिकताका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सहप्रधानाध्यापक भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयोजक संगीता उप्रेती, प्रावि संयोजक मुकुन्द न्यौपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकोटा (इलेक्टिकल), किरण अधिकारी (हेयर कटिङ), र सकुन्तला बानियाँ (ब्युटी पार्लर) लगायतको उपस्थिति रहेको थियो।

