हेटौंडामा २८७ क्याप्सुल ट्रमाडोलसहित ५ जना पक्राउ
हेटौंडा / मकवानपुरको हेटौंडामा लागूऔषध ट्रमाडोलको ठूलो परिमाणसहित पाँच जना पक्राउ परेका छन्। पदमपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा लागूऔषधसहित पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ।
हिजो (शनिबार) दिउँसो करिब २ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१३ स्थित पदमपोखरी वडा कार्यालय नजिकै सडक किनारमा शंकास्पद रुपमा बसेका दुई युवकहरू – २५ वर्षीय अजित दोङ र २१ वर्षीय बिनय लामालाई प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २५ क्याप्सुल ट्रमाडोल फेला परेको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले लागूऔषध ट्रमाडोल हेटौंडा–२ स्थित ‘नेपाली चुलो होटल’ की सञ्चालिका सरिता माझीसँग खरिद गरेको जानकारी दिएपछि प्रहरीले सो होटलमा थप अनुसन्धानका लागि टोली खटाएको थियो। होटलमा शंकास्पद रुपमा बसिरहेका अन्य दुई व्यक्तिहरू बागमती गाउँपालिका–४ घर भई हाल हेटौंडा–२ बस्ने २२ वर्षीय उदेश राई र हेटौंडा–९ बस्ने २९ वर्षीय मनिष तिमल्सिनालाई समेत नियन्त्रणमा लिइएको पुरहरीले जनाएकाे छ।
प्रहरीले होटल परिसरबाट थप २६२ क्याप्सुल ट्रमाडोल र ३० ग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित सरिता माझी, अजित दोङ, बिनय लामा, उदेश राई र मनिष तिमल्सिनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


