हेटौंडामा सुमोकाे ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते
हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित मास्टर चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब १० बजे काठमाण्डौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नम्बरको सुमोले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ निवासी करिब ५५ वर्षीय जयबहादुर मोक्तानलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन् । ठक्करपछि घाइते मोक्तानलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । अवस्था गम्भीर देखिएपछि मोक्तानलाई थप उपचारका लागि बिहान १०:५० बजे भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको मकवानपुर प्रहरीले जाकारी दिएकाे छ। मोक्तानकाे शरीरका विभिन्न भागमा चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा रहेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा संलग्न सुमो चालक पर्सा बहादुरमाई नगरपालिका–९ निवासी करिब २४ वर्षीय सन्तु राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारीसाधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।


