हेटौंडामा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ज्योति मावि प्रथम

पालिका डायरी
८ भाद्र २०८१, ०७:४८
हेटौंडामा माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ज्योति मावि प्रथम

हेटाै‌ंडा / नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरूबीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुगेन्द्र लुईटेलको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका प्रमुख रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतियोगितामा हेटौंडा नगरका २१ वटा विद्यालयका समुहहरूले भाग लिएका थिए। कडा प्रतिस्पर्धाका बीच हेटौंडा–१८ स्थित ज्योति माविका सलिना सुवेदी, शान्ती गोले र समिप घिमिरेको समुह प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, हेटौंडा–१७ को बालबोध माविका श्रृष्टि भुजेल, स्मृति तिमल्सिना र सकृना पुडासैनीको समुह द्वितीय तथा हेटौंडा–१६ को जनप्रिय माविका रामकृष्ण आचार्य, एरिना चौलागाई र कौस्तुभ सुवेदीको समुह तृतीय भएका थिए । विजेता टोलीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको संस्थाकी उपाध्यक्ष प्रतिमा गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण कोईरालाले आफ्नो सम्बोधनमा यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै शैक्षिक समन्वय समितिको प्रयासको प्रशंसा गरे। उनले वडा तथा नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले प्रतियोगिताको उद्देश्य बारे प्रकाश पार्दै भने, ‘यस प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व, सामाजिक र बौद्धिक विकासमा योगदान र्पुयाउनुका साथै उनीहरूलाई आफ्नो ज्ञान र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउँछन् र उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न मद्दत र्पुयाउँछन ।’

कार्यक्रमको संचालन संस्थाका सचिव जनकप्रसाद घिमिरेले गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोईराला, शिक्षा अधिकृत हरिचन्द्र लामा, जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन वास्तकोटी, प्रधानाध्यापक भुपेन्द्र चौलागाई र हजुरको खबर डटकमका प्रमुख रुपक कालिराज लगायत अतिथिहरूले प्रतियोगितामा सहभागी सबै विद्यालय र विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै हेटौंडा नगरपालिकाको उच्च शैक्षिक स्तरको संकेत गरेको बताएका थिए । साथै, यस्ता कार्यक्रमहरूको निरन्तरताले भविष्यमा स्थानीय शैक्षिक वातावरणलाई थप सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरे।

सहयोगिदाता रिडमाेर पब्लिकेसन, पत्रपत्रिका सेन्टर, विद्यार्थी पुस्तक पसल र मातृभुमि छापाखाना, जनप्रिय मा.वि. परिवार र समितिका सबैलाइ धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरे। उनले यस प्रतियोगिताले विद्यार्थीहरूको व्यक्तित्व, सामाजिक र बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। यस प्रतियोगिताले हेटौंडा नगरपालिकाका माध्यमिक विद्यालयहरू बीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको ज्ञान र प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ । यस्ता शैक्षिक गतिविधिहरूले समग्र शैक्षिक गुणस्तर वृद्धिमा योगदान र्पुयाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया