बज्राचार्य मन्त्री बनेपछि हानेपामा भाँडभैलो, ‘राजनीतिक अपहरण’ गरेको आरोप
हाम्रो नेपाली पार्टी (हानेपा) ले सत्ता गठबन्धनले आफ्ना सांसद शैलेन्द्रमान बज्राचार्यको राजनीतिक अपहरण गरेको आरोप लगाएको छ।
६ दिनअघि मात्र समर्थन फिर्ता लिएको हानेपाका बज्राचार्य बागमती सरकारमा सामेल भएपछि आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गरी हानेपाका अध्यक्ष अनन्त राज घिमिरेले प्रदेशका सत्ता साझेदार दलले उनको राजनीतिक अपहरण गरेर मन्त्री बनाएको आरोप लगाएको हो। ‘पार्टीमा छलफल हुँदै गर्दा राजनीतिक अपहरण शैलीमा सरकारमा सहभागी गराइयो। बिहान ११ बजेदेखि उहाँ (शैलेन्द्रमान) हाम्रो सम्पर्कमा रहनुभएन’, अध्यक्ष घिमिरेले भने, ‘११ बजे अपहरणमा पर्नुभयो। साँझ सिधै मन्त्रीको शपथ ग्रहण गरेको समाचार आयो। राजनीतिक अपहरण गरेर मन्त्री बनाउँदैमा सरकारलाई विश्वासको मत दिइँदैन।’
यही चैत ३ र ४ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयविपरीत सांसद बज्राचार्य सररकारमा सहभागी भएको उल्लेख गर्दै अध्यक्ष घिमिरेले सरकारलाई विश्वासको मत दिए उनलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्। बज्राचार्यले राजनीतिक बेइमानी गरेको आरोप उनले लगाए।
हानेपाले ६ महिना गैरसांसदलाई मन्त्री बनाउन माग गरेको थियो, त्यसको आकांक्षी तपाईं आफैँ हुनुहुन्थ्यो भन्ने चर्चा छ, मन्त्री नपाएको कुण्ठा त होइन? भन्ने प्रश्नमा अध्यक्ष घिमिरेले यो सबै शीर्ष पार्टीका नेताले फैलाएको अफवाह भएको दाबी गरे। आफूहरुले त्यस्तो माग राख्दै नराखेको जिकिर उनले गरे।
हिजो मात्रै प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त बज्राचार्य भने कसैले अपहरण नगरेको बताउँछन्। उनले कुराकानी गर्दै नवनियुक्त, मन्त्री बज्राचार्यले आफ्ना निर्वाचन क्षेत्रका मतदाताको मागलाई पूरा गर्न सरकारमा सहभागी भएको उनको भनाइ छ। बागमती प्रदेश सभामा हानेपासँग दुई सिट छ। गत ४ मंसिर २०७९ को आम निर्वाचनमा काठमाडौँको प्रदेश सभा क्षेत्र नम्बर ८(१) मा शैलेन्द्रमान बज्राचार्य निर्वाचित भएका हुन् भने काठमाडौँकै सरिता खड्गी समानुपातिक सांसद निर्वाचित भएकी हुन्।
हानेपा पार्टी प्रवक्ता डिल्लीश्वर कार्कीका अनुसार समानुपातिक सांसद सरिता भने हाल पार्टीकै निर्णयमा अडिग छन्।



