पूर्वराजा शाह आज हेटौंडा आउँदै, स्वागतका लागि दुई राप्रपाबीच प्रतिस्पर्धा
file photo
हेटौंडा / पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) हेटौंडा आउँदै छन्।हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र हेटौंडा आउन लागेका हुन्।
पूर्वराजा शाह हेटौंडा आउने भएपछि राजावादी पार्टीहरु राप्रपा र राप्रपा नेपालले स्वागतका लागि प्रतिस्पर्धा गरिरहेका छन्। राप्रपाले स्वागत समिति नै बनाएर स्वागत गर्ने निर्णय भएको बताएको छ भने राप्रपा नेपालले पनि आफ्नै तयारी गरिरहेको छ।
उनको भ्रमण गराउन मकवानपुर क्षेत्र नम्बर.१ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजनमा १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति बनाइएको छ। साथै १० वटा उपसमिति गठन गरिएको सांसद सिंहले जानकारी दिए।
यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि छुट्टै तयारी गरिएको बताएको छ। हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजाआराधना र शुभेच्छुकसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका पूर्वराजा शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
पार्टी जिल्ला समितिको शनिबार बसेको बैठकले तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको उनले बताए। पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौँ’, जिल्ला अध्यक्ष सापकोटाले भने।
पूर्वराजा शाहलाई दिउँसो १२ बजे हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजाआरधानासहित शुभेच्छुकसँग भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गर्ने कार्यक्रम छन्।
यसपछि उनी आजै हेटौंडाबाट फर्कने कार्यतालिका रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिए।


