जनयुद्धमा आँखा गुमाएको २७ बर्ष पछि अधिकारीलाई पार्टीले दियो अवसर
हेटौंडा / आउँदो माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले बागमतीमा श्री कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ। अहिले माओवादी केन्द्रको प्रदेश सम्पर्क
विशेष कमिटीका अध्यक्ष रहेका अधिकारीको संसदीय यात्रा भने पहिलो पटक तय भएको हो। पञ्चायतकाल देखि नै जनयुद्धमा होमिएका उनी २०३८ सालबाट कम्युनिष्ट पार्टीमा लागेका थिए। जनयुद्धको सुरुवातबाटै भूमिगत युद्धमा होमिएका अधिकारी उक्त बेला ३६ बर्षका थिए।
साना लालाबाला र श्रीमती घर छोडेर जंगल पसेका अधिकारी जनयुद्धको एक बर्ष अर्थात २०५३ पुस १९ गते रामेछापको बेथानमा भएको लडाइँमा घाइते भए। दाइने आँखामा गोली लाग्यो। संसार देख्ने एउटा आँखाको नानी गुमाउन पुगे। ३७ बर्षकै उमेरमा उनी युद्धका कारण अपांगता बन्न पुगे। उक्त घटना पछि पनि उनले युद्धको ९ बर्ष जंगलमै बिताए।
माओवादी शान्ति वार्तामा आएपछि पनि अधिकारी अहिलेसम्म अवसर नपाउने नेतामध्येमा पर्छन्। ३७ बर्षको उमेरमा आँखा गुमाएका उनलाई २७ बर्ष पछि पार्टीले अवसर दिएको हो। तर बाहिरी रुपमा अवसर नपाउने नेताका नामले परिचित भए पनि हविगत त्यस्तो नभएको उनी बताउँछन्। अवसर नै नपाएको भन्ने त होइन। मैले आजसम्म पनि पार्टीले अवसर दिएन भनेर कहीँकतै भनेको छैन। उनले नेपालखबरसँग भने, ‘अहिले पनि म प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष हुँ। संसदीय यात्रा भने पहिलो पटक नै हो।’
त्यसोत, अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एस म्यानको रुपमा चिनिन्छन्। माओवादीबाट बागमतीमा अन्य हेभिवेट नेताहरुको नाम पनि सिफारिसमा परेको थियो, टिकट पाउनुमा पार्टी अध्यक्षकै देन हो? नेपालखबरको यो प्रश्नमा उनले हाँस्दै भने, ‘टिकट पाउनुको देन त पार्टीका केन्द्रीय स्तरका नेताकै हो। तर पुष्पकमल दाहालकै योगदानले टिकट पाएँ भन्ने घमण्ड गर्दिनँ। यसमा मैले पार्टीलाई गरेको योगदान पनि समेटिएको छ।’
माओवादीबाट बागमतीमा पाएको सिट नेकपा एमालेबाट रिक्त हुने पद हो। गठबन्धनले एमालेबाट रिक्त हुने ८ सिट बाँडफाँट गरेका छन्। जसमा माओवादीलाई बागमतीमा एक सिट भाग परेको हो। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो । रावल महिला, राई अपांगता÷अल्पसंख्यक, विश्वकर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित भएका थिए। अब ती चारवटै समूहमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । जसका लागि सोमबार मनोनयन दर्ता हुनेछ।


