राष्ट्रिय सभा निर्वाचनका लागि बागमतीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पालिका डायरी
१६ पुष २०८०, १६:५१

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सोमबार प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। यहाँ न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ।

निर्वाचन अधिकृत कार्की र मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले कार्यालय स्थापनाको उद्घाटन गरेका हुन्। कार्यालयको स्थापनासँगै निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ।

जसमा आउँदो २० गते मतदाता नामावली प्रकाशन गर्ने तथा प्रकाशित नामावलीउपर उजुरी दिने, २१ गते निवेदनको छानविन र कारवाही गर्ने एवं २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

यस्तै पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता तथा मानोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५-२६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने एवं २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

यस्तै, पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए।

आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुँदैछ। जसका लागि बागमती प्रदेश सभा सदस्य १ सय १० र स्थानीय तह सदस्य २ सय ३७ गरी कुल ३४७ मतदाता रहेका छन्।

 

प्रतिक्रिया