कोभिड कालमा बन्द भएको दामन भ्यु टावर पुनः सञ्चालन

पालिका डायरी
१२ पुष २०८०, १२:२३
कोभिड कालमा बन्द भएको दामन भ्यु टावर पुनः सञ्चालन

कोभिड-१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ।

थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक दामन भ्यु टावर निजी क्षेत्रले सञ्चालन गर्ने गरी सम्झौता भएको हो। नगरपालिका र दामन भ्यु टावर रिसोर्टबिच २० वर्षका लागि एक करोड रुपियाँमा सञ्चालन गर्न दिने सम्झौता गरिएको छ। थाहा नगरपालिकाका वरिष्ठ सहायक सुदर्शन पहेलीले दामन भ्यु टावर रिसोर्ट प्रालिलाई २० वर्षका लागि सञ्चालन गर्न दिने गरी सम्झौता भएको जानकारी दिए ।

दामन भ्यु टावर रिसोर्ट र नगरपालिकाबिच २० वर्षका लागि सञ्चालन गर्न दिने र भुक्तानीबापतको रकम किस्तामा तिर्ने सम्झौता भएको उनले बताए। यसअघि गत साउनमा दृश्यावलोकन स्तम्भ सञ्चालनमा लागि ३० दिने बोलपत्र आह्वान र त्यसपछि १५ दिने सूचना जारी गरेकामा कुनै पनि कम्पनीले सञ्चालनमा चासो नदेखाएपछि सर्तहरूमा परिवर्तन गरी पुनः बोलपत्र आह्वान गरिएको थियो। २०१३ सालताका त्रिभुवन राजपथ निर्माण गर्ने क्रममा निर्माण गरिएको ऐतिहासिक महत्वसमेत रहेको दृश्यावलोकन स्तम्भ (दामन भ्यु टावर) को उचित व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। यसअघि रिसोर्टसहितको भ्यु टावर एन्ड दामन रिसोर्ट निजी क्षेत्रलाई ठेक्कामा सञ्चालन गर्न दिएकामा कोभिड-१९ को महामारी देखाउँदै बिचमा नै ठेक्का तोडेपछि दामन रिसोर्ट बन्द भएको थियो।

छोटो समय ठेक्कामा दिँदा नआउने भएको २० वर्षका लागि ठेक्कामा दिएको बताउँदै उनले हाल रहेको संरचना आफ्नै खर्चमा मर्मत गर्नुपर्ने र नयाँ संरचना बनाउन चाहेमा नगरपालिकाबाट स्वीकृत डिजाइन नक्सा अनुसार बनाउनुपर्ने बताए । साथै सडक विस्तारका क्रममा लिजमा लिनेले बनाएको संरचना भत्काउनुपर्नेमा भएमा लिजमा लिनेले कुनै दाबी गर्न नपाउने, लिजको समय सकिएपछि लिजमा लिएकाले बनाएको संरचनाको स्वामित्व स्वतः नगरपालिका आउने सर्त राखिएको छ। भ्यु टावरमा रहेको टेलिस्कोपबाट पालुङ उपत्यका र वरपरका प्राकृतिक दृश्यसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, गणेश, मकालुलगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया