प्रदेश स्तरीय ४ दिवसीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
प्रदेश युवा परिषद बागमतीको आयोजनामा प्रदेश स्तरीय ४ दिवसीय नमूना युवा संसद अभ्यास कार्यक्रम हेटौडामा सम्पन्न भएको छ।
मिति २०८०/०२/२३ देखि २६ सम्म संचालन भएको बागमती प्रदेश नमूना युवा संसद कार्यक्रमको समापन समारोहमा प्रदेश युवा परिषद्का अध्यक्ष तथा माननीय सामाजिक विकास मन्त्री कुमारी मुक्तान, प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं ज्यूको उपस्थिती रहेको थियो ।
नमूना युवा संसद अभ्यास कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण प्रशिक्षक श्याम काजी खत्री र सुजिता थिङ ले गर्नु भएको थियो। कार्यक्रममा बागमती प्रदेशको १३ जिल्लाका १४ स्थानीय तहबाट र अनलाइन दरखास्तको माध्यम बाट गरी जम्मा ४५ जना युवाहरुको सहभागिता रहेको थियो।
नमुना युवा संसद अभ्यास कार्यक्रममा नमुना युवा मुख्य मन्त्री काठमाडौं जिल्लाका आयुष श्रेष्ठ, सभामुख काभ्रे जिल्लाका आशिष पन्त, प्रदेश प्रमुख रामेछापकी एलिना लामा लगायतको निवार्चित हुनु भएको थियो। नमूना युवा संसद अभ्यासको क्रममा नमूना युवा संसद्को नमुना प्रदेश प्रमुख, प्रदेश सभामुख, उपसभामुख, मुख्यमंत्री, विभिन्न विषयका मन्त्री, प्रतिपक्ष दलका नेता लगायतको चयन गरी अभ्यास गरिएको थियो।
नमूना युवा संसद अभ्यासको अवधारणा, व्यवस्थापिका, कार्यपालिका, न्यायापालिकाको काम, कर्तव्य र अधिकारको विषय, संसद भित्र हुने नियम कानुनहरु प्रक्रिया, नीति तथा कार्यक्रम को प्रस्तुति, बजेटको घोषणा, विधेयक पेश र पारित गर्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रम को दोस्रो दिनमा बागमती प्रदेशका पहिलो मुख्य मन्त्री डोरमणि पौडेल ज्युले लोकतन्त्र,गणतन्त्र, र देशमा लोकतन्त्र र गणतन्त्र पश्चात को वर्तमान अवस्था वारे आफ्नो अनुभव र सहजीकरण गर्नुभएको थियो ।
नमूना युवा संसद को युवा संसदहरुलाई बागमती प्रदेश सभाको भ्रमण बागमती प्रदेश सभाका प्रवक्ता मनोज कुमार गुप्ताको समन्वय र सहजीकरणमा तेस्रो दिनमा गराइएको थियो। यस सँगै १५ सदस्य प्रदेश स्तरीय युवा सञ्जालको गठन पनि मुख्यमन्त्रीको अध्यक्षतामा भएको थियो। जस बाट प्रदेश युवा परिषद्को सिफारिसमा 7 जना युवा सांसद हरू संघीय नमुना युवा संसद अभ्यास कार्यक्रमको लागि छैनौट गरएको छ। नमूना युवा संसद अभ्यासको समापन समारोहमा माननीय मन्त्री कुमारी मुक्तान ज्यूले बागमती प्रदेशको ११९ वटै स्थानीय तह देखि नै आगामी वर्षको लागि कार्यक्रम राखी बागमती प्रदेशका युवालाई थप सशक्तीकरण र प्रोत्साहन गर्ने कुरा बताउनुभयो। यस कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताउनु भयो ।
त्यस्तै गरी बागमती प्रदेशका युवा जनशक्तिलाई थप सशक्तिरण गर्न यस कार्यक्रमले प्रभावकारी टेवा पुग्ने ,परिषदले विगतका दिन हरु बाट नै युवा सशक्तीकरण, युवा उद्यमशीलता, रोजगार प्रवद्र्धन लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यक्रममा युवा माझ ल्याउन पहल कदमी गर्ने कुरा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं ज्यूले बताउनभयो।


