हेटौंडा ९ मा एकैदिन दुई वटा भवनको शिल्यानास

पालिका डायरी
५ बैशाख २०८०, ११:१८
हेटौंडा ९ मा एकैदिन दुई वडा भवनको शिल्यानास

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको भवन निर्माणका लागि शिल्यान्यास गरिएको छ। मंगलबार (आज) बिहान हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिल्यान्यास गरेकी हुन्। हाल रहेको वडा कार्यालय सँगैको जग्गामा ६ कोठे भवनमा आफ्नै कार्यालय बनाउन थालिएको वडाध्यक्ष शुकराम केसीले बताए।

हेटौंडा उपमहानगरपालिकाको ४० लाख रुपैंया वजेट र उपभोक्ता समितिबाट ४ लाख गरि ४४ लाख रुपैंया वजेटमा वडा कार्यालयको भवन निर्माण सुर गर्न लागिएको हो। अबको तीन महिना भित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष केसी बताउँछन्।

यस्तै, आजै हेटौंडा ९ मा रहेको प्रगती माध्यामिक विद्यालयको व्यवसायीक भवन निर्माणको पनि शिल्यानास भएको छ। भवनको शिल्यानास गर्दै हेटौंडाकी मेयर लामाले विद्यालयको नाम जस्तै विद्यालयले हरेक क्षेत्रमा प्रगती गरेको बताइन्। अन्य विद्यालयको तुलनामा यस विद्यालयमा शैक्षिक क्षेत्र देखि भौतिक पूर्वाधार निर्माणमा पनि प्रशंसनिय रहेको बताइन्।

विद्यालय मात्रै नभई हरेक क्षेत्रमा विकास भएको बताउँदै उनले भनिन्, ‘४ बर्षमा ४ वटा सडक हेर्न ९ नम्बर वडा जाऔं है भन्ने हिसाबले बनाउन खोजिरहेका छौं। यो वडा सँगै हेटौंडाको १९ वटै वडामा यसरी विकासका कामहरुमा यसरी नै ध्यान दिएर अघि बढ्ने छौं।’
विद्यालयको आफ्नै जमिनमा बन्दै गरेको व्यवसायीक भवनमा तल्लो तलामा १० वटा सटर निर्माण हुनेछन् भने पछि वजेट थप गरेर माथिल्लो तल्लामा विद्यालयको कक्षाकोठा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र सापकोटाले जानकारी दिए।

हाल हेटौंडा उपमहानगरपालिकाको १५ लाख रुपैंया वजेटमा फाउन्डेसन निर्माणको काम सुरु गरिएको हो। यस्तै उपभोक्त समितिबाट १ लाख ६८ हजार १८० रुपैंया गरि कुल १६ लाख ६८ हजार १८० रुपैंया वजेटमा फाउन्डेसनको काम हुन लागेको हो। भवन निर्माणको लागि आगामी आर्थिक बर्षमा बजेट छुट्याएर भवन निर्माण पूरा हुने वडाध्यक्ष केसीले प्रतिबद्धता जनाए।

प्रतिक्रिया