हेटौँडामा यात्रुबाहक बसमा ढुंगा प्रहार गर्ने ५ जना नियन्त्रणमा
file photo
हेटौँडा / मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३, लेवटस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुबाहक बसमा ढुंगा प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बुधबार बिहान करिब १ः३० बजे लेवटस्थित सडकखण्डमा सञ्चालनमा रहेका यात्रुबाहक बसहरूमा ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट बसमा सवार यात्रुहरू समेत घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–३, लेवटका २७ वर्षीय किरण वि.क., ३० वर्षीय अंकित राई, ३९ वर्षीय सुग्रिव मुक्तान, २९ वर्षीय विजय थिङ लामा र २९ वर्षीय उदाश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।


