मकवानपुरमा ईभी गाडी दुर्घटना, चार जनाको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरास्थित हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार, आज दिउँसो करिब २ बजे काठमाडौंँबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घाइते हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्।
घटनापछि प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो। उद्धार गरिएका घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको जनाइएको छ।
गाडीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी छ।


