भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकका लागि ८ करोड बजेट, वैकल्पिक मार्ग निर्माणको बाटो खुल्यो
राम कुमार दानी
१ असार २०८३, २१:४२
भीमफेदी / बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नतिका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
नेकपा एमाले मकवानपुरका जिल्ला अध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको पहल तथा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको विशेष सक्रियतामा उक्त बजेट विनियोजन भएको जनाइएको छ।
वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा रहेको यस सडकमा बजेट सुनिश्चित भएसँगै निर्माण तथा सुधार कार्यले गति लिने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि भीमफेदी–देउराली खण्डमा रहेको सवारी चाप व्यवस्थापनमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार आगामी आर्थिक वर्षमा यस सडकलाई करिब ५० करोड रुपैयाँसम्मको बहुवर्षीय ठेक्का प्रक्रियामा लैजाने तयारी भइरहेको छ। बहुवर्षीय योजना कार्यान्वयनमा गए दुई वर्षभित्र भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडकलाई पूर्ण रूपमा स्तरोन्नति गरी हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो तथा महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए।
स्थानीयवासीले सडक स्तरोन्नतिका लागि बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। सडक सुधारसँगै स्थानीय यातायात, व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको पहुँच विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।