पाथीभरा केबलकारबारे संसद्मा सरकारको धारणा माग
नेकपा(एमाले( का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गरेका छन्। केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उनले स्मरण गराएका छन्।
यो आयोजना बन्ने हो कि रोकिने हो? सरकारको आधिकारिक धारणा के हो? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन्,’ सांसद थेबेले भने, ‘ताप्लेजुङबाट काठमाडौँ आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो। अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो। तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो?’
एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गरेका छन्। उनले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबीच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।



