काठमाडौँबाट हेटौँडा आउँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

पालिका डायरी
२९ बैशाख २०८३, ०९:५७

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडकमा गएराति गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार राति करिब ११:१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टि रहेको भित्तामा ठोकिएको हो।  दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी (खानीखेत) र प्रहरी चौकी (सिस्नेरी) बाट प्रहरी टोली गएका थिए।

गाडीमा चालकसहित ११ जना सवारमध्ये ९ भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक थिए। दुर्घटनामा भारत बिहार दरभंगाका ६० वर्षीय राम विनय झा, ७० वर्षीया निर्मला देवी र ५५ वर्षीया अनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यसैगरी ५६ वर्षीया प्रझा देवीको बायाँ हातमा, ५२ वर्षीया रुद्रकुमारी झाको दाहिने खुट्टामा तथा ७४ वर्षीय छत्रधर चौधरीको दुवै हातमा चोट लागेको छ भने ६७ वर्षीय हम्रानाथ झा, ६६ वर्षीय अमरनाथ झा र ४२ वर्षीया अनिता झा छन्।

उनीहरूको पनि हातखुट्टामा चोट लागेको मकवानपुर प्रहरीका निमित्त सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई प्रारम्भिक उद्धारपछि काठमाडौँ पठाइएको थियो। प्रहरीका अनुसार उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।

ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ बस्ने करिब ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा छन्। अर्का नेपाली सवार असान साफी भने सामान्य अवस्थामा आफैँ घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया