दलित बालकमाथि कुटपिट गर्ने ३ जना पक्राउ

पालिका डायरी
१५ बैशाख २०८३, १६:०४
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

रोल्पामा दलित बालकमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख ११ गते पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानी फुलबासका ११ वर्षीय बालक खगेन्द्र विकमाथि कुटपिट भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न भएका स्थानीय टोपबहादुर खत्रीसहित ३ जनालाई मंगलबार बिहान दाङबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा टोपबहादुरसहित भीमबहादुर खत्री र मस्तबहादुर खत्री छन् । पीडित परिवारले सोमबार इलाका प्रहरी कार्यालय घर्तीगाउँमा जाहेरी दर्ता गरेका छन् । प्रहरीका अनुसार खगेन्द्र खेल्ने क्रममा टोपबहादुरको घरमा छिरेपछि उनीमाथि कुटपिट भएको थियो ।

पक्राउ परेका तीन जनालाई रोल्पा सदरमुकाम लिबाङ ल्याएर अदालतमा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए । बालक स्थानीय कुइनेटा बस्ने पूर्णबहादुर विकका छोरा हुन् । उनलाई टाउकोमा कुटपिट गरिएको र रक्ताम्मे बनाइएको थियो ।

बालकमाथि टोपबहादुरले कुटपिट गरेको र अरूले साथ दिएको प्रहरीको भनाइ छ । घटना ११ गते साँझ भएको र अर्को दिन सामाजिक सञ्जालमा आएपछि आफूहरूले थाहा पाएको डीएसपी विश्वकर्माले बताए । यसबारे प्रहरीले आरोपीविरुद्ध भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरलगायतको मुद्दा दर्ता गरी अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया