हेटौंडामा १५ दिने ‘अबिर केशरी बनाउने’ तालिम सुरु
हेटौंडामा १५ दिने ‘अबिर केशरी बनाउने’ तालिम कार्यक्रम सुरु भएको छ। मकवानपुर घरेलु तथा साना उद्योग संघको आयोजना तथा उद्योग वाणिज्य कार्यालय मकवानपुरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।
संघका अध्यक्ष कुमार पौडेलको अध्यक्षता तथा उद्योग वाणिज्य कार्यालय मकवानपुरका कार्यालय प्रमुख रामप्रसाद भूसालको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रामहरि तिमल्सिना, महिला उद्यमी समितिका अध्यक्ष चन्दावती पनेरु, संघका कोषाध्यक्ष कृष्ण अर्याल तथा प्रशिक्षक रुसन लुईटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै वक्ताहरूले यस्ता सीपमूलक तालिमले स्थानीय स्तरमा उद्यमशीलता विकास, स्वरोजगार सिर्जना तथा आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
१५ दिनसम्म सञ्चालन हुने तालिममा २० जनाको सहभागिता रहेको जनाइएको छ। तालिममार्फत सहभागीहरूलाई अबिर तथा केशरी उत्पादन सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिने आयोजकले जनाएको छ।


