विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट पूर्ण कार्यान्वयनको माग गर्दै प्रजिअलाई ध्यानाकर्षण पत्र

पालिका डायरी
११ बैशाख २०८३, १३:२६

हेटौंडा /   मकवानपुरमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत यातायात छुट पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

शुक्रवार बिहान हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यवाहक अध्यक्ष भरत मोहन देवकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा नेपाल सरकारद्वारा व्यवस्था गरिएको सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट प्रदान गर्ने नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको स्ववियु सदस्य नितेश भण्डारीले बताए।

यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले उक्त छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरूमाथि दुर्व्यवहार गर्ने जस्ता गुनासाहरू आइरहेकोले त्यस समस्याको समाधानका लागि आग्रह गरिएको छ।

साथै, सार्वजनिक यातायातका साधनहरूले नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत छुटलाई अनिवार्य र प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको छ।

अन्त्यमा, उक्त विषयमा समयमै आवश्यक कदम चालिएन भने विद्यार्थीहरूको हकहित संरक्षणका लागि स्ववियु हेटौंडा क्याम्पस थप सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य हुने व्यहोरा समेत उल्लेख गरिएको छ।


प्रतिक्रिया