सशस्त्र प्रहरीले भन्यो: मल आयात गर्दा सिमानाकामा कुनै अवरोध हुँदैन
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।
बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताए । उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी)लाई निर्देशन दिएको जानकारी दिए । उनले सिमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे ।
उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए ।मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उनको भनाई छ । उनले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उनको दाबी छ ।


